काठमाडौँ । कर्णाली प्रदेश सरकारसँग विकास बजेटको माग गर्दै एमालेबाट निर्वाचित एक वडाध्यक्ष मुख्यमन्त्री कार्यालयको गेटमै धर्नामा बसेका छन् ।
सल्यानको कालीमाटी गाउँपालिका–७ का वडाध्यक्ष मित्रलाल रिजालले गाउँमा सडक स्तरोन्नति र टेलिफोन टावर निर्माणका लागि बजेट माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडि धर्ना सुरु गरेका हुन् । उनीसँगै वडा सदस्य विर्घाबहादुर राना पनि धर्नामा सहभागी छन् । स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमालेबाट निर्वाचित रिजाल आफ्नै पार्टीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
उनका अनुसार घुइयाबारी–स्वामीबास–बबई सडकको अवस्था निकै खराब भएकाले स्थानीयले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । सडकको स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि प्रदेश सरकारले बेवास्ता गरेको आरोप उनले लगाए । वडाध्यक्ष रिजालले माग पूरा नभएसम्म धर्ना जारी राख्ने चेतावनी दिएका छन् ।