काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत हेटौंडा–पथलैया सडकखण्डको तीन नम्बर पुल आसपासका घरटहरा र होटलहरू डिभिजन वन कार्यालय बाराले हटाएको छ । शुक्रबार बिहान वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन सडक कार्यालय हेटौंडा तथा सुरक्षाकर्मीको संयुक्त टोलीले डोजर प्रयोग गरेर संरचना हटाएको हो ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाका अनुसार उक्त क्षेत्र वन तथा निकुञ्जको संरक्षित क्षेत्रभित्र परेकाले अतिक्रमण हटाउने अभियानअन्तर्गत संरचना हटाइएको हो । उनले यसअघि पटक–पटक माइकिङ र लिखित सूचना दिँदा पनि अटेर भएपछि डोजर चलाउनुपरेको बताए । तर, विस्थापित व्यवसायीहरूले भने आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनीहरूका अनुसार सडक विभागको सूचनापछि राजमार्गको दुवैतर्फको २५–२५ मिटर सडक सीमा आफूहरूले पहिल्यै खाली गरिसकेका थिए ।
त्यसपछि पनि सडक सीमाभन्दा बाहिर रहेका संरचनामा डोजर चलाइएको भन्दै उनीहरूले विरोध जनाएका छन् । स्थानीय व्यवसायीहरूका अनुसार २०४५ सालदेखि सञ्चालनमा रहेका होटल तथा पसलहरू अचानक हटाइँदा ठूलो आर्थिक क्षति भएको छ । तीन नम्बर पुल क्षेत्र लामो समयदेखि यात्रुहरूको विश्रामस्थल र व्यावसायिक केन्द्रका रूपमा परिचित थियो । करिब ७० भन्दा बढी होटल व्यवसायी विस्थापित भएपछि धेरै स्थानीय परिवारको रोजीरोटी संकटमा परेको छ । यता वन कार्यालयले भने सार्वजनिक तथा संरक्षित क्षेत्रको अतिक्रमण हटाउने अभियान आगामी दिनमा पनि जारी रहने जनाएको छ ।