काठमाडौँ । सञ्चारकर्मबाट संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका ईश्वरी बरालको नयाँ लोकगीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक भएको छ ।
ठाडो भाका र झ्याउरे शैलीको फ्युजनमा आधारित यस गीतलाई ईश्वरी बरालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा लोकप्रिय सर्जक दीपक शर्माको शब्द र संगीत रहेको छ । अनामनगरस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज सविन सुवेदीले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।
गीतको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन् । भिडियोमा सुरेश कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र गायिका बराल स्वयंले अभिनय तथा नृत्य गरेका छन् । कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् भने सहायक कोरियोग्राफरका रूपमा नवीन पौडेल रहेका छन् । लोक–पप, आधुनिक र र्याप गीतमार्फत परिचित बरालको यो पहिलो शुद्ध लोकलयमा आधारित गीत हो ।