काठमाडौँ । अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य अभिनय रहेको नेपाली चलचित्र ‘गौँथली’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक दुई पोस्टरमध्ये एकमा अरुण र सिम्रन दुलाहा–दुलहीको भेषमा देखिएका छन् भने अर्को पोस्टरमा सिम्रन एक्लै ग्रामीण परिवेशमा देखिएकी छन् । यी दृश्यहरूले फिल्म ग्रामीण भेगको कथामा आधारित रहेको संकेत गर्छन् । फिल्ममा दुलाहा–दुलहीको भूमिकामा देखिए पनि उनीहरूको सम्बन्ध असामान्य र भावनात्मक रूपमा जटिल देखाइएको छ । पोस्टरमा अरुण खुसी देखिँदा सिम्रन भने दुःखी अवस्थामा प्रस्तुत भएकी छन् । एकल पोस्टरमा सिम्रन डोकोमा स्याउला बोकेर खाली खुट्टा हिँडिरहेको दृश्य छ, जहाँ उनी पढाइसँग जोडिएको संकेत पनि देखिन्छ ।
निर्देशक डा। कपिल रिजालका अनुसार फिल्मले ग्रामीण जीवनको प्रेमकथा प्रस्तुत गर्नेछ । फिल्ममार्फत अभिनेता अरुण क्षेत्रीले आफूलाई फरक भूमिकामा प्रस्तुत गरेको बताएका छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ । डा। भोला रिजालको कथा रहेको फिल्मको पटकथा तथा संवादमा निर्देशक कपिल रिजालसहित अन्य लेखकहरूको सहकार्य रहेको छ । फिल्म ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।