हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को सिफारिस बमोजिम आज (जेठ १ गते) मध्यरात १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को निर्णय र सिफारिसका आधारमा यो कदम चालिएको हो। यससँगै बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन औपचारिक रूपमा समापन भएको छ।
यस हिउँदे अधिवेशनका क्रममा २०८२ साल चैत २४, २५ र २६ गते तथा २०८३ साल वैशाख ६ गते बैठकहरू बसेका थिए। अधिवेशन अन्त्यसँगै अब सरकारलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्ने बाटो खुलेको छ। संविधानतः बजेट अधिवेशन (वर्षे अधिवेशन) सुरु हुनुअघि हिउँदे अधिवेशन अन्त्य गर्नुपर्ने प्रावधान रहेको छ।
मन्त्रालय स्रोतका अनुसार, आगामी केही हप्ताभित्रै वर्षे अधिवेशन आह्वान गरी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ।