काठमाडौँ । जेनजी आन्दोलनका अगुवाहरूले सरकार पक्षले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार गरेका छन् । विगतमा भएका सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै उनीहरुले सरकारले शुक्रबार राखेको छलफल बहिष्कार गरेका हुन् ।
सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र कार्यदलले पत्र पठाएर उनीहरूलाई छलफलमा बोलाएको थियो । तर, जेनजी आन्दोलनका २५ जना अगुवाहरुले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै उक्त छलफलमा सहभागी नहुने जनाएका हुन् ।
उनीहरुले छलफल बहिष्कार गर्नुमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि देखाएका छन् । जेनजी अगुवा मोनिका निरौलाले संविधान संशोधनको आफ्नै विधि र प्रक्रिया हुने भन्दै त्यसमा सरकारी पक्षको स्पष्ट धारणा समेत नआएकाले आफुहरु आजको छलफलमा सहभागी नभएर बहिष्कार गर्नुपरेको बताइन् ।