काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा ९ जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
बिहीबार राति स्थानीय समयअनुसार करिब ७स्५५ बजे बजौर जिल्लास्थित स्काउट्स मुख्यालयमा विस्फोट भएको हो । विस्फोटक पदार्थले भरिएको सवारीसाधनलाई सुरक्षाकर्मीहरूले मुख्य गेटमै रोक्ने प्रयास गर्दा विस्फोट भएको स्रोतहरूले जनाएका छन् । जसका कारण गेट र वरपरका संरचनामा क्षति पुगेको छ । विस्फोटपछि परिसरभित्र तैनाथ सुरक्षाबल र आक्रमणकारीबीच गोली हानाहान भएको पनि जनाइएको छ । घटनापछि थप आक्रमणकारीहरू पनि मारिएको दाबी गरिएको छ । सुरक्षाबलले क्षेत्रमा खोज तथा उद्धार कार्य जारी राखेको छ भने घाइते सैनिकहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतक तथा घाइतेहरूको पहिचान प्रक्रिया भइरहेको अधिकारीहरूले बताएका छन् । हालसम्म कुनै पनि समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन ।