काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई प्रधानमन्त्रीको राजीनामा माग्नुपर्ने कुनै आधार नभएको भन्दै जवाफ दिएका छन् । अध्यक्ष साम्पाङले विभिन्न चार बुँदे कारण देखाउँदै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन ।
सांसद शाहीले साम्पाङलाई विनम्र अपिल गर्दै अहिलेको सरकार र जनादेशको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । “माननीय हर्क साम्पाङज्यू प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन,“ शाहीले लेखेका छन्, “याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे र भ्रष्टाचार गरे। तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन्। त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ।“
शाहीले सबै राजनीतिक शक्तिहरू मिलेर देशलाई समृद्धिको दिशामा अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । प्रधानमन्त्रीलाई व्यक्तिगत रूपमा हटाउनुभन्दा पनि प्रणालीलाई सुधार्नुपर्ने उनको तर्क छ। “हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस् र संसद्प्रति उत्तरदायी भइदिनुहोस्,“ शाहीले लेखेका छन्, “किनकि संसद् जनताको आवाज बोल्ने थलो हो र जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद् नै हो।“
पछिल्लो समय सामाजिक सञ्जाल र सडकमा प्रधानमन्त्रीको राजीनामालाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला राप्रपा नेता शाहीको यो स्पष्टोक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।