काठमाडौँ । गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ दोस्रो सातामा प्रवेश गरेको छ । बादी समुदायको पृष्ठभूमिमा आमा–छोरीको भावनात्मक कथामा आधारित यस फिल्मलाई दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएपछि शो सङ्ख्या र दर्शक दुवै बढेको निर्माण पक्षले जनाएको छ ।
फिल्मले काठमाडौंसँगै मोफसलका हलहरूमा पनि राम्रो दर्शक उपस्थिति पाएको छ । हाल सार्वजनिक नयाँ पोस्टरमा अभिनेत्री स्वस्तिमा खड्का र नवअभिनेत्री प्रशंसा सुवेदी आमा–छोरीको भूमिकामा देखिएका छन् । फिल्ममा प्रस्तुत केही दृश्यहरू हलमा दर्शकले ताली र सिट्टी बजाउने स्तरका रहेको बताइएको छ । सुर्खेतको लक्ष्मी चलचित्र मन्दिरमा बादी समुदायका करिब १५० भन्दा बढी दर्शकले फिल्म हेरेपछि यसको कथावस्तु र प्रस्तुतीको प्रशंसा गरेका थिए । समुदायका अभियन्ताहरूले फिल्मले आफ्नो जीवन संघर्ष र शोषणलाई उजागर गरेको प्रतिक्रिया दिएका छन् ।
अभियन्ता सपना बादीले फिल्मले शासक र समाजविरुद्ध आवाज उठाउने प्रेरणा दिएको बताउँदै यसले समुदायका महिलालाई विशेष रूपमा प्रभाव पारेको धारणा राखिन् । अन्य अभियन्ताहरूले पनि फिल्मको कथावस्तुलाई प्रशंसा गर्दै समुदायका महिलालाई अनिवार्य रूपमा हेर्नुपर्ने बताए । मोफसल भ्रमणपछि निर्माण टोली नेपालगन्ज र बुटवलका दर्शकसँग भेटघाट गरेर काठमाडौं फर्किएको छ । अभिनेत्री स्वस्तिमा खड्काले वास्तविक समुदायबाट पाएको प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताइन् । निर्माण पक्षका अनुसार दोस्रो सातामा शो सङ्ख्या पनि बढेको छ र दर्शकको सन्तुष्टि राम्रो देखिएको छ ।
निर्देशक यम थापाले फिल्म परिवारसहित हेर्न मिल्ने र भावनात्मक सन्देश बोकेको बताएका छन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । फिल्मको कथा तथा निर्देशन यम थापाले गरेका हुन् भने पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले तयार गरेका हुन् । कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माणमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ संलग्न छन् ।