बैतडी । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले बैतडीबाट पक्राउ गरेको छ। जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा कैद भुक्तान गरिरहेका बैतडीको पुर्चौडी नगरपालिका–७ काफलीका नरेन्द्र सिंह रतोकीलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार रतोकी आफ्नो घरमा लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक इन्द्रराज भट्टको कमाण्डमा खटिएको टोलीले शुक्रबार बिहान ४ः३० बजे रतोकीलाई उनकै घरबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका रतोकीलाई अदालतले जबरजस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। उनी नख्खु कारागारमा कैद भुक्तान गरिरहेका बेला गत भदौमा भएको राजनीतिक आन्दोलन र अशान्तिको फाइदा उठाउँदै फरार भएका थिए।
प्रहरीले पक्राउ परेका रतोकीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पुनः कारागार चलान गर्नका लागि डडेल्धुरा पठाएको जनाएको छ। लामो समयदेखि फरार रहेका रतोकी पक्राउ परेसँगै प्रहरीले फरार कैदीहरूको खोजी कार्यलाई थप तीव्रता दिएको छ।