काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष, प्रभावकारी र परिष्कृत बनाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
‘हेलो सांसद’ कार्यक्रमअन्तर्गत पर्यटन कानुन संशोधन विधेयक २०८१ सम्बन्धी सरोकारवालासँग भएको अन्तरक्रियामा बोल्दै उनले विधेयकका विभिन्न प्रावधानमाथि समितिमा गहन अध्ययन भइरहेको जानकारी दिइन् । उनले प्रस्तावित दफाहरूमा सूक्ष्म छलफल गरी छिट्टै अन्तिम रूप दिने तयारी भइरहेको बताइन् । उनका अनुसार विधेयकमा केही महत्त्वपूर्ण पक्षहरू छुटेको भन्दै सरोकारवालाबाट प्राप्त सुझाव समेट्ने प्रयास भइरहेको छ । राष्ट्रिय सभाबाट पारित भए पनि प्रतिनिधिसभामा छलफल बाँकी रहेको उल्लेख गर्दै उनले छिट्टै समितिमा विधेयक आउने र प्रत्येक दफामा विस्तृत छलफल हुने बताइन् ।
सभापति उदासले नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरिन् । उनले पर्यटन क्षेत्रलाई विविधीकरण गर्दै आध्यात्मिक पर्यटन जस्ता नयाँ आयामलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् । छलफलका क्रममा उनले पर्यटन विकासका लागि स्पष्ट नियामक ढाँचा र मार्गनिर्देश गर्ने दस्तावेज आवश्यक रहेको बताइन् । साथै पर्यटन क्षेत्रलाई मापनयोग्य र राष्ट्रिय गौरवको विषयका रूपमा विकास गर्न नवीन सोच आवश्यक रहेको उनको भनाइ थियो ।