काठमाडौं । भारतले बुधबारदेखि लागू हुने गरी नेपालसहित अन्य मुलुकतर्फ चिनी निर्यातमा पुनः प्रतिबन्ध लगाएपछि नेपाली बजारमा आपूर्ति अवरोध र मूल्यवृद्धिको चिन्ता बढेको छ।
भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा, सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गर्दै निर्यातलाई ‘निषेधित’ सूचीमा राखेको हो।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ‘एल निनो’ को प्रभावका कारण खडेरी, कृषि उत्पादनमा गिरावट तथा आन्तरिक बजारमा मूल्य वृद्धि हुन सक्ने अनुमानपछि भारतले चिनी निर्यात नियन्त्रण गर्ने निर्णय गरेको हो। नयाँ व्यवस्था ३० सेप्टेम्बर २०२६ सम्म वा अर्को सूचना जारी नभएसम्म कायम रहने बताइएको छ।
ब्राजिलपछि विश्वकै प्रमुख चिनी निर्यातकर्तामध्ये भारतले यसअघि १५ लाख ९० हजार टन चिनी निर्यात गर्न अनुमति दिएको थियो। तर नयाँ प्रतिबन्धले नेपालजस्ता आयातमा निर्भर मुलुक प्रत्यक्ष प्रभावित हुने देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले चिनी प्रतिबन्धबारे सरोकारवालासँग छलफल गरिने बताएका छन्।