काठमाडौँ । निर्देशक प्रवेश पौडेलको निर्देशनमा नयाँ नेपाली चलचित्र ‘मेरो प्रेम अधुरो’ निर्माण हुने घोषणा गरिएको छ । पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरिसकेका छन् भने यो उनको तेस्रो फिचर फिल्म हुनेछ ।
निर्माण टिमका अनुसार आगामी साउन महिनाबाट चलचित्रको छायांकन नेपालबाट सुरु गरिनेछ । त्यसपछि युरोप र अष्ट्रेलियामा समेत छायांकन गर्ने योजना रहेको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता कबिर खड्का रहनेछन् भने उनको अपोजिटमा अभिनय गर्ने दुई अभिनेत्रीको छनोट अडिसनमार्फत गरिने निर्माण पक्षले जनाएको छ । हाल अभिनेत्री खोजी प्रक्रिया सुरु भइसकेको छ ।
सितारा फिल्म्स र कबिर खड्का फिल्म्सको ब्यानरमा बन्ने यो चलचित्रका निर्माता सुरेन्द्र रावल हुन् भने अभिनेता खड्का पनि निर्माता रहेका छन् । सहनिर्माताको रूपमा करण खड्काको संलग्नता रहनेछ । सिनेमाटोग्राफी शरद महतोले गर्नेछन् भने संगीत अर्जुन कटुवालले दिनेछन् । क्रियटिभ निर्देशकको जिम्मेवारी बम बहादुर थापाले सम्हाल्ने भएका छन् । निर्देशक पौडेलले दर्शकलाई एक सुन्दर प्रेमकथामा आधारित चलचित्र प्रस्तुत गर्ने लक्ष्य रहेको बताएका छन् ।