काठमाडौँ । बाजुरामा स्थानीय सरकारको नेतृत्वमा ‘द लास्ट माइल’ डिजिटल हेल्थ शिखर सम्मेलन २०२६ आयोजना हुने भएको छ । बडीमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकाको संयुक्त पहलमा आगामी असार १३ र १४ गते सम्मेलन सञ्चालन गरिने जनाइएको छ ।
सम्मेलनमार्फत दुर्गम क्षेत्रका समुदाय, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय तहका अनुभवलाई डिजिटल स्वास्थ्य रूपान्तरणसँग जोड्ने लक्ष्य राखिएको छ । स्थानीय तहदेखि प्रदेश र संघीय स्तरसम्म स्वास्थ्य क्षेत्रका चुनौती, नीति, साझेदारी र लगानीका विषयमा छलफल हुने आयोजकले जनाएको छ । बाजुराबाट सुरु हुने कार्यक्रम सुदूरपश्चिम प्रदेशको धनगढी हुँदै काठमाडौंसम्म विस्तार गरिनेछ । बिहीबार सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमार्फत सम्मेलनबारे जानकारी दिइएको हो । कार्यक्रमको जिल्लास्तरीय समन्वय बडीमालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्काले गर्नेछन् । नगर प्रमुख खड्काका अनुसार सम्मेलनले बाजुराको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवाला निकायलाई एउटै मञ्चमा ल्याउनेछ । पहिलो दिन बुढीनन्दा र बुढीगंगा नगरपालिकामा टेलिहेल्थ सेवा, स्वास्थ्य पहुँच र डिजिटल अभ्यासका विषयमा छलफल हुनेछ ।
त्यसबाट आएका निष्कर्षलाई सदरमुकाममा प्रस्तुत गर्दै ‘बाजुरा घोषणापत्र’ जारी गरिने तयारी गरिएको छ । सम्मेलनमा स्थानीय समुदायका अनुभव, महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वास्थ्यकर्मीका भोगाइ तथा डिजिटल स्वास्थ्यका व्यवहारिक अभ्यास प्रस्तुत गरिनेछ । आयोजकले विकास साझेदार, दातृ निकाय, विश्वविद्यालय, सञ्चारमाध्यम, नीति निर्माता, अनुसन्धानकर्ता तथा डिजिटल स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरेका छन् । प्रदेशस्तरीय सम्मेलन धनगढीमा हुने बताइएको छ भने राष्ट्रियस्तरको कार्यक्रम काठमाडौंमा आयोजना गरिनेछ । स्थानीय र प्रदेश तहबाट प्राप्त अनुभव तथा सुझावलाई राष्ट्रिय नीति, साझेदारी र डिजिटल स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्य सम्मेलनको रहेको जनाइएको छ ।