काठमाडौँ । दिगो विकास, सामाजिक समावेशिता तथा परिवारको सशक्त भूमिकालाई केन्द्रमा राख्दै आज विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ । हरेक वर्ष मे १५ मा मनाइने यो दिवसले व्यक्तिको जीवनमा परिवारको महत्त्व, भूमिका र योगदानलाई उजागर गर्ने उद्देश्य राख्दछ ।
परिवारसम्बन्धी विषयमा संयुक्त राष्ट्रसङ्घले सन् १९८० को दशकदेखि नै विशेष चासो देखाउन थालेको थियो । सन् १९८३ मा सामाजिक विकास आयोगले ‘विकास प्रक्रियामा परिवारको भूमिका’ सम्बन्धी प्रस्ताव पारित गर्दै परिवारका समस्या, आवश्यकता र समाधानबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्न पहल गरेको थियो । त्यसपछि सन् १९८५ मा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्ले महासभालाई ‘विकास प्रक्रियामा परिवार’ शीर्षकलाई कार्यसूचीमा समावेश गर्न सुझाव दिएको थियो ।
सदस्य राष्ट्रहरूको धारणा र प्रस्तावका आधारमा परिवारको अवस्था सुधार, कल्याण अभिवृद्धि तथा सामाजिक विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउने प्रयास अघि बढाइएको थियो । महासभाले सन् १९८९ लाई ‘अन्तर्राष्ट्रिय परिवार वर्ष’ घोषणा गरेको थियो भने सन् १९९३ मा पारित प्रस्तावअनुसार हरेक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसका रूपमा मनाउने निर्णय गरिएको हो । यो दिवस सन् १९९४ देखि औपचारिक रूपमा विश्वभर मनाउन थालिएको हो ।