सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियामा क्रियाशील सामाजिक संस्था बागलुङ समाज अष्ट्रेलियाले आगामी २३ मे २०२६ (शनिबार) का लागि आफ्नो बहुप्रतिक्षित ‘बागलुङ सांगीतिक साँझ २०२६’ को आयोजना गर्ने भएको छ। न्यु साउथ वेल्सको रकडेलस्थित इन्द्रेणी फङ्सन सेन्टरमा हुने यस कार्यक्रमलाई सिड्नीको ऐतिहासिक दोहोरी साँझका रूपमा हेरिएको छ। नेपाली लोकसंगीत, गजल र दोहोरीको माध्यमबाट प्रवासमा रहेका नेपालीहरूलाई आफ्नो मौलिक कला र संस्कृतिसँग जोड्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको बताइएको छ ।
यस वर्षको सांगीतिक साँझमा नेपालका सात प्रख्यात कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा चर्चित गजल तथा भर्सटाइल गायक थानेश्वर गौतम, लोक गायक तथा सर्जक बिष्णु खत्री, रेशम निर्दोष, निशा केसी, सुबास खत्री, भिमु गुरुङ र झलक सञ्जीतमले सिड्नीको मञ्च तताउनेछन्। विशेष गरी मौलिक लोकदोहोरीको लाइभ प्रस्तुति यस कार्यक्रमको मुख्य आकर्षण रहने आयोजकले जनाएका छन्। सन् २००६ मा स्थापना भएदेखि नै बागलुङ समाजले अष्ट्रेलियामा नेपाली भाषा, संगीत र पहिचानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
कार्यक्रम बेलुकी ५ः३० देखि राति १०ः३० सम्म सञ्चालन हुनेछ भने सहभागीका लागि ६० डलर (वयस्क) र ३० डलर (बालबालिका) को टिकट दर निर्धारण गरिएको छ, जसमा रात्रिकालीन भोजनको समेत व्यवस्था गरिएको छ। कार्यक्रमलाई इकोबिल्ड प्रोजेक्ट्स, बीएनबी होम लोन्स, इन्स्टा एजुकेशन एण्ड भिसा सर्भिसेज लगायतका विभिन्न व्यावसायिक संस्थाहरूले प्रायोजन गरेका छन्। “घरबाट जति टाढा भए पनि नेपाल र नेपालीपन मुटुमै छ भन्ने सन्देश दिन यो उत्सवको आयोजना गरिएको हो,“ बागलुङ समाजका प्रवक्ताले बताउनुभयो। नेपालबाट कलाकारहरू ल्याउने भिसा प्रक्रियामा इन्स्टा एजुकेशनका हिरा कँडेलले विशेष सहजीकरण गर्नुभएको थियो।