काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा अत्यधिक बिक्री हुने ‘करेन्ट’ र ‘लाली’ चाउचाउसहित एक प्रसिद्ध ब्रान्डको बिस्कुट गुणस्तरहीन पाइएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले बिहीबार यशोधा फुड्स प्रालि र एसियन बिस्कुट एण्ड कन्फेक्सनरीका उत्पादनहरूमाथि यस्तो प्रतिबन्ध लगाएको हो।
विभागका अनुसार यशोधा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट नुडल्स’ र ५० ग्रामको ‘लाली चाउचाउ’ मा सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्ड फेला नपरेको हो। परीक्षणका क्रममा यी दुवै चाउचाउमा ‘एक्सट्राक्टेड फ्याट’ को ‘एसिड भ्यालु’ मापदण्डभन्दा बाहिर रहेको पाइएको विभागले जनाएको छ। एसिड भ्यालु बढी हुनुले प्रयोग गरिएको तेलको गुणस्तर कमजोर रहेको वा उत्पादन पुरानो भएको सङ्केत गर्दछ, जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
त्यसै गरी, सुनसरीको दुहबीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिद्वारा उत्पादित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट पनि गुणस्तरहीन पाइएको छ। विभागले उक्त बिस्कुटलाई पनि तुरुन्तै बजारबाट फिर्ता लैजान र बिक्री वितरण रोक्न निर्देशन दिएको छ।
विभागले यी उत्पादनहरू स्वास्थ्यका लागि जोखिमपूर्ण हुन सक्ने भन्दै उपभोक्ताहरूलाई सचेत रहन आग्रह गरेको छ। साथै, सम्बन्धित उद्योगहरूलाई आफ्नो उत्पादन प्रक्रियामा सुधार नगरेसम्म उत्पादन र बिक्रीमा रोक लगाउन सकिने चेतावनी समेत दिएको छ। बजारमा रहेका मौज्दात फिर्ता नगरे र आदेशको उल्लंघन गरे कानुन बमोजिम कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ।