काठमाडौं । कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोटको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) को बैठकले पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयका अनुसार सुदूरपश्चिम विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ। समितिको सदस्यहरूमा प्रा.डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेश लम्साल रहनुभएको छ। यो समिति सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ को व्यवस्था बमोजिम गठन गरिएको हो।
सिनेट बैठकले विश्वविद्यालयको सभालाई पूर्णता दिन विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी ६ जना सदस्य (सिनेटर) हरूको समेत मनोनयन गरेको छ। जसमा विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई समेटिएको छ। मनोनयन गरिएका सदस्यहरूमा समावेशितालाई ध्यान दिँदै दुई जना महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि नेतृत्वविहीन रहेको र सञ्चालनको पर्खाइमा रहेको यस विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु भएसँगै सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य शिक्षा र सेवामा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ। सिफारिस समितिले अब कार्यविधि बनाएर उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान गर्ने र योग्य उम्मेदवारहरूको नाम सरकारलाई सिफारिस गर्नेछ।