काठमाडौँ । जनकपुरधाम मा वर्षौंदेखि अलपत्र अवस्थामा रहेको राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माणलाई लिएर स्थानीयवासीको आशा र चासो पुनः बढेको छ ।
स्थानीयले हरेक दिनजसो आउने राजनीतिक नेतृत्वलाई एउटै प्रश्न गर्ने गरेका छन् रंगशाला कहिले पूरा हुन्छ रु तर विभिन्न सरकार परिवर्तन भए पनि निर्माण कार्यले अपेक्षित गति लिन सकेको छैन । रंगशाला क्षेत्रलाई अहिले उपमहानगरपालिकाले तारबार गरी सुरक्षित राखिएको छ, तर भौतिक संरचना निर्माणतर्फ उल्लेखनीय प्रगति हुन सकेको छैन । बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना पोखरेल ले रंगशाला स्थलको अवलोकन गर्दै काम अघि बढाउने आश्वासन दिएका थिए । स्थानीय खेलाडी र सर्वसाधारणले पनि निर्माण कार्य चाँडै अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य मनीष झा ले समेत रंगशाला निर्माणलाई आफ्नो प्रमुख एजेन्डामध्ये एक बनाएका कारण थप आशा पलाएको स्थानीयको भनाइ छ । यसअघि सन् २०१८ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी को जनकपुर भ्रमणका क्रममा घोषणा गरिएको अनुदान रकमबाट रंगशाला निर्माण गर्ने निर्णय भए पनि विभिन्न प्राविधिक र प्रशासनिक कारणले परियोजना अघि बढ्न सकेको छैन । डिपिआर तयार भइसके पनि कार्यान्वयन नहुँदा परियोजना लामो समयदेखि अलपत्र परेको छ । हालको सरकारले चासो देखाएपछि स्थानीयमा पुनः निर्माण अघि बढ्ने आशा बढेको छ ।