काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको छ। काठमाडौँ प्लाजास्थित कार्यवाहक प्रमुखको कार्यकक्षमा भएको उक्त भेटमा स्थानीय शासन, सहरी विकास र द्विपक्षीय हितका विषयमा गहन कुराकानी भएको हो।
भेटका क्रममा डेपुटी एम्बास्डर बाकाभीले पछिल्लो ५ वर्षमा काठमाडौँको सुन्दरता र व्यवस्थापनमा आएको सकारात्मक परिवर्तनको प्रशंसा गर्दै यसको सफलताको रहस्यबारे जिज्ञासा राखिन् । जवाफमा कार्यवाहक प्रमुख डंगोलले महानगरले सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवाहरूलाई दिगो र संस्थागत बनाउन प्राथमिकता दिएको बताईन् ।
डंगोलले महानगरको आगामी योजनाबारे चर्चा गर्दै सार्वजनिक यातायातलाई यात्रुहरूको पहिलो रोजाइ बनाउने गरी सुधारका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिदै। “हामी सहरी व्यवस्थापनमा नवप्रवर्तन र दिगो विकासका आयामहरूलाई जोड्दै अगाडि बढिरहेका छौँ,“ उनले बताईन् ।
कुराकानीका क्रममा उपउच्चायुक्त बाकाभीले नेपालको स्थानीय निर्वाचन प्रणाली, महिला सहभागिता र प्रमुख तथा उपप्रमुखका कानुनी दायित्वबारे चासो राखिन् । डंगोलको राजनीतिक यात्राबारे सोधिएको प्रश्नमा उनले भनिन “सामाजिक क्षेत्रबाट एउटा सीमित क्षेत्रको मात्र सुधार गर्न सकिन्छ, तर राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले ठुलो जनसङ्ख्यालाई एकै पटक लाभ पु¥याउन सकिने भएकाले म राजनीतिमा प्रेरित भएकी हुँ।“
भेटवार्तामा सिंगापुर दूतावासका पोलिटिकल फस्ट सेक्रेटरीद्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनियाका साथै महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख गंगाधर गौतम र अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।