काठमाडौँ । स्वस्थ, फिट र आकर्षक रहन सबैको चाहना भए पनि दैनिक जीवनशैलीमा ध्यान नदिँदा धेरैले लक्ष्य पूरा गर्न नसक्ने अवस्था रहने गरेको छ । यसै सन्दर्भमा स्वास्थ्य विशेषज्ञहरूले सजिलै अपनाउन सकिने ६ वटा उपाय सार्वजनिक गरेका छन् ।
विशेषज्ञहरूका अनुसार बिहान सबेरै उठ्ने बानीले शरीरलाई स्फूर्त राख्नुका साथै विभिन्न रोगको जोखिम कम गर्न सहयोग गर्छ । त्यसैगरी जंक तथा प्रशोधित खाना नखाने र प्राकृतिक आहारलाई प्राथमिकता दिने बानीलाई अत्यन्त महत्वपूर्ण मानिएको छ । खाना खाने क्रममा पानी नपिउने, खाना खानुभन्दा ३० मिनेट अघि वा पछि मात्र पानी पिउने बानीले पाचन प्रणालीलाई सहज बनाउने सुझाव दिइएको छ । साथै पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्नेमा पनि जोड दिइएको छ ।
रातिको खाना सुत्नुभन्दा कम्तीमा २–३ घण्टा अघि खाने र खाना खाइसकेपछि हल्का हिँडडुल गर्ने बानीले मोटोपन नियन्त्रण तथा पाचन सुधारमा मद्दत गर्ने विशेषज्ञहरूको भनाइ छ । त्यस्तै, प्राकृतिक रूपमा पाइने विभिन्न रंगका खानेकुरा–तरकारी, फलफूल, दाल, गेडागुडी लगायत–समावेश गरी सन्तुलित आहार लिन सुझाव दिइएको छ । अन्त्यमा, नियमित शारीरिक व्यायाम, योग तथा ध्यानलाई दैनिक जीवनमा समावेश गर्दा शरीर मात्र होइन मानसिक स्वास्थ्य पनि सन्तुलित रहने बताइएको छ ।