काठमाडौँ । आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने नेपाली चलचित्र काजी को ट्रेलर सार्वजनिक गरिएको छ ।
मंगलबार सार्वजनिक गरिएको करिब ३ मिनेट ६ सेकेन्ड लामो ट्रेलरले चलचित्रको कथावस्तु झल्काउने प्रयास गरेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढाव र प्रेमकथालाई चलचित्रले प्रस्तुत गर्ने संकेत ट्रेलरमा देखिन्छ । ट्रेलरमा विपिन र केकी मुख्य पात्रका रूपमा प्रस्तुत छन् । विवाहपछि एक जोडीबीचको प्रेम र सम्बन्धलाई भावनात्मक रूपमा देखाइएको छ ।
चलचित्रमा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।रामप्रसाद रिजालको प्रस्तुति रहेको यस चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको चलचित्रमा छायांकन, संगीत, सम्पादन तथा प्राविधिक पक्षमा समेत विशेष ध्यान दिइएको निर्माण पक्षले जनाएको छ । यसअघि सार्वजनिक पोस्टर, प्रिभ्यू र गीतहरूले दर्शकको ध्यान आकर्षित गरिसकेको भन्दै ट्रेलर सार्वजनिक भएसँगै चलचित्रप्रतिको उत्सुकता थप बढ्ने अपेक्षा गरिएको छ ।