काठमाडौं । पश्चिम एसियाली द्वन्द्वका कारण सिर्जित आपूर्ति अवरोधका बीच नेपालबाट अनुरोध प्राप्त भएपछि भारतले नेपाललाई मल आपूर्ति गर्ने भएको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार यसबारे जानकारी दिएका हुन्।
“हामीलाई नेपालबाट मल आपूर्तिका लागि अनुरोध प्राप्त भएको छ । यसलाई विद्यमान सहयोगको ढाँचाभित्र रहेर अगाडि बढाइँदैछ,” विदेश मन्त्रालयको साप्ताहिक ब्रिफिङमा जयसवालले बताएका छन् ।
नेपालले सरकारदेखि सरकार (जीटुजी) सम्झौतामार्फत भारतबाट ८० हजार टन मल खरिद गरिरहेको छ, जसमा ६० हजार टन युरिया र २० हजार टन डीएपी समावेश छन् ।
आगामी धान रोपाइँ सिजनमा हुन सक्ने अभाव रोक्न यो कदम चालिएको हो । विश्वव्यापी आपूर्ति अवरोधका बीच यो ढुवानीले आपूर्ति व्यवस्थालाई स्थिर बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । विदेश मन्त्रालयका प्रवक्ताले भारतले छिमेकी देशहरूलाई ऊर्जा उत्पादनहरू पनि आपूर्ति गर्दै आएको बताएका छन् ।
यो आपूर्तिको व्यवस्थापन भारतको सरकारी स्वामित्वको ‘नेसनल केमिकल्स एन्ड फर्टिलाइजर्स लिमिटेड’ले गरिरहेको छ । मल अगस्टको मध्यसम्ममा नेपाल आइपुग्ने तालिका रहेको बताइएको छ ।