काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधि सभामा व्यक्त गरेको धारणाप्रति दुई सांसदले नियमापत्ति जनाएका छन्। मंगलबारको बैठकमा सम्बोधनका क्रममा बादलले सेना र राजनीतिक दलका बारेमा गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सांसदहरूले नियमापत्ति गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले बादलको भनाइप्रति आपत्ति जनाएका हुन । उनिहरूले नेपाली सेना जस्तो संवेदनशील संस्थाका बारेमा संसद्मा अमर्यादित र गैरजिम्मेवार कुरा राखेको भन्दै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका हुन ।
सांसद मनिष खनालले सेनाको विषयका साथै बादलले जनताबाट अनुमोदित राजनीतिक शक्ति रास्वपाका बारेमा समेत भ्रामक र गैरजिम्मेवार टिप्पणी गरेको आरोप लगाए । “जनताको मतबाट आएको दल र राष्ट्रको सुरक्षा खम्बा सेनाका बारेमा यस्ता खालका अभिव्यक्ति आउनु खेदजनक छ,“ खनालले बताए ।
सांसदद्वयको नियमापत्तिपछि सभामुखले यसबारे आफ्नो ध्यानाकर्षण भएको जनाउनुभएको छ। बादलले संसद्मा के कस्तो धारणा राखेका थिए भन्ने विषयमा यतिखेर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।