काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउँछु भन्दै लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सर्भिया र स्लोभाकिया लगायतका देश पठाउने भन्दै १३ जना युवायुवतीलाई ठगी गर्ने ४७ वर्षीय शैलेन्द्र पाण्डेलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–९ बस्ने पाण्डेले बेरोजगार युवायुवतीहरूलाई आकर्षक वैदेशिक रोजगारीको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखेका थिए। रकम असुल गरेपछि उनी पीडितहरूको सम्पर्क बाहिर गएका थिए।
पीडितहरूले दिएको जाहेरीका आधारमा उनलाई काठमाडौँको नागार्जुन नगरपालिका–९ बाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पाण्डेले प्रतिव्यक्ति लाखौँ रुपैयाँ असुलेर विदेश नपठाई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।