काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइलहरू सात दिनभित्र किनारा लगाउन विभागीय प्रमुखहरूलाई कडा निर्देशन दिएकी छन् । महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले आगामी हप्ताको सोमबारसम्म केन्द्रमा कुनै पनि फाइल बाँकी राख्न नहुने (शून्य फाइल) बताए ।
कार्यवाहक प्रमुख डंगोलले प्रक्रिया मिलेका फाइलहरू तुरुन्त स्वीकृत गर्न र नमिलेका भए स्पष्ट कारण खुलाएर फिर्ता पठाउन निर्देशन दिएकी हुन । “जनताको काममा ढिलासुस्ती स्वीकार्य छैन, अर्को सोमबारभित्र फाइलको चाङ शून्य हुनुपर्छ,“ उनले भनिन् ।
’बजेट सक्ने होइन, गुणस्तरीय काम गर्ने हो’ सोही कार्यक्रममा उनले वडा सचिवहरूलाई सम्बोधन गर्दै बजेट खर्च गर्ने नाममा गुणस्तरहीन काम नगर्न सचेत गराकस् हुन । गुणस्तरीयता कायम हुन नसक्ने अवस्थाका कार्यक्रमहरू कार्यान्वयन नगर्न निर्देशन दिँदै उनले योजनाहरूको लाभ–लागत विश्लेषण र प्रभावकारी नतिजामा जोड दिइन् ।
महानगरको सुशासनका विषयमा कुरा गर्दै डंगोलले “बेरुजु शून्य बनाउन लगनशीलता चाहिन्छ। राजस्व सङ्कलनलाई प्रभावकारी बनाउने, सार्वजनिक जग्गा अतिक्रमण हटाउने र रातको समयमा सडक बत्ती निभ्न नदिने व्यवस्था मिलाउनुस्।“ बनाईन, उनले सामाजिक क्षेत्रका तालिमहरूमा सधैँ एउटै अनुहार दोहोरिने प्रणाली (ट्रेनिङ हन्टर) को अन्त्य गर्न समेत निर्देशन दिइन् ।
महानगरले वडाहरूलाई ठुला, मझौला र साना गरी ३ प्रकृतिमा विभाजन गरेर बजेट विनियोजन गर्दै आएको छ। जसमा पूर्वाधार विकासका लागि ठुला वडालाई १० करोड, मझौलालाई ७.५ करोड र साना वडालाई ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
वडा सचिवका गुनासा र समस्या छलफलका क्रममा वडा सचिवहरूले उपभोक्ता समितिले समयमा कागजपत्र बुझाउन नसक्नु, इन्धनको मूल्य वृद्धिले निर्माण व्यवसायीले काममा ढिलाइ गर्नु र बजेट शीर्षक नभएका कार्यक्रमका लागि माग आउनु जस्ता समस्याहरू औँल्याएका थिए। प्रशासन विभागका प्रमुख महेश काफ्लेले जनशक्ति व्यवस्थापनलाई वैज्ञानिक बनाइने प्रतिबद्धता जनाउनुभयो भने स्वास्थ्य, राजस्व र सूचना प्रविधि महाशाखाका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सहजीकरण गरेका थिए।