धनगढी । मादक पदार्थ सेवन (मापसे) गरी सरकारी गाडी चलाउँदा सडकको रेलिङ भत्काएका कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टलाई धनगढी उपमहानगरपालिकाले ३५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने भएको छ। गत शनिबार राति मेयर भट्टले चलाएको सुपप्र ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडी मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डको गेटामा दुर्घटना भएको थियो। मापसेका कारण अनियन्त्रित भएको गाडी सडक छेउको फलामे रेलिङमा ठोक्किएको थियो।
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको सचिवालयका अनुसार प्राविधिकहरूले गरेको मूल्याङ्कनमा रेलिङ मर्मत गर्न ३५ हजार रुपैयाँ खर्च लाग्ने देखिएको छ। उपमहानगरपालिकाले उक्त रकम असुल गर्न नगर प्रहरी परिचालन गरे पनि मेयर भट्टले भने आफू स्वयंले नै प्राविधिक स्टमेट अनुसारको रेलिङ मर्मत गरिदिने प्रतिबद्धता जनाएका छन्। यसअघि, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मेयर भट्टलाई मापसे गरी सवारी चलाएकोमा ५ सय र लापरबाही गरेकोमा थप ५ सय गरी कुल १ हजार रुपैयाँ जरिवाना तिराएर गाडी छाडिसकेको छ।
धनगढी उपमहानगरपालिकाले ६ लेन सडकमा फूल र बत्ती बालेर सडकलाई सौन्दर्यकरण गरिरहेका बेला छिमेकी नगरपालिकाका प्रमुखबाटै सार्वजनिक सम्पत्तिमा क्षति पुगेपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। “एउटा मेयरले सडक सजाउने र अर्कोले मापसे गरेर भत्काउने काम गर्नु दुःखद छ,“ गोदावरी–५ का स्थानीय भागीराम रानाले भने।
धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने जोसुकैबाट पनि क्षतिपूर्ति असुल गर्ने नीतिलाई कडाइका साथ लागू गर्दै आएको छ।