भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीबाट प्रहरीले स्रोत नखुलेको साढे एक किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० घर भई हाल काभ्रेको बनेपा बस्ने ३२ वर्षीय राजु स्वेत रहेका छन्।
सोमबार अपराह्न साढे तीन बजेतिर नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१२ प ४३६४ नम्बरको मोटरसाइकललाई प्रहरीले शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा स्वेतले बोकेको झोलाभित्र साढे एक किलो चाँदी फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सूचना प्रकाश जबेगुका अनुसार बरामद चाँदीको कुनै पनि आधिकारिक कागजात वा बिल–भरपाई स्वेतले देखाउन सकेका छैनन्। अवैध रूपमा चाँदी ओसारपसार भइरहेको आशंकामा उनलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका स्वेतलाई हाल प्रहरी वृत्त जगातीमा राखेर थप अनुसन्धान भइरहेको छ। उनले उक्त चाँदी कहाँबाट ल्याएका हुन् र कहाँ लैजान लागेका थिए भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ।