काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी तीव्र पारेको छ । बोर्डले नतिजा प्रकाशन अघि प्रणाली परीक्षण (डेमो) देखाउन बोर्डका सदस्यहरूलाई बोलाएको छ । बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार यो डेमो नतिजा प्रकाशन प्रणालीमा कुनै त्रुटि छ कि छैन भन्ने जाँचका लागि गरिएको हो, र यो अन्तिम बोर्ड बैठक भने होइन ।
बोर्ड सदस्यहरूलाई साँझ ५ बजे डेमो अवलोकनका लागि बोलाइएको छ । डेमो सफल भएपछि मात्र नतिजा आजै सार्वजनिक हुने वा भोलिसम्म सारिने निर्णय हुने जनाइएको छ । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको २०८२ सालको एसईई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । प्राविधिक समस्या देखिएमा नतिजा भोलि (मंगलबार) प्रकाशित हुन सक्ने पनि बोर्डले जनाएको छ ।