काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल ले नेपाली लोक कला, संस्कृति र दोहोरी गीतमा पछिल्लो समय अश्लीलता तथा विकृति बढेको भन्दै गम्भीर आपत्ति जनाएको छ । संस्थाका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले सामाजिक मर्यादामा खलल पुग्ने सामग्री तथा कलाकारमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको हो ।
बैठकले डिजिटल माध्यम र मेला–महोत्सवहरूमा प्रस्तुत भइरहेका केही सामग्रीले नेपाली लोक संस्कृतिको मौलिकता र गरिमामा आँच पुर्याएको निष्कर्ष निकालेको छ । संस्थाले केही दोहोरी प्रस्तुतिहरूमा प्रयोग भएका शब्द, हाउभाउ र शैलीलाई दोहोरीको मर्म विपरीत भएको भन्दै आलोचना गरेको छ । साथै, केही स्टेज प्रस्तुति तथा धार्मिक स्थलमा गरिएको नृत्यलाई पनि असभ्य र आपत्तिजनक भन्दै छानबिनको माग गरिएको छ । संस्थाले यस्ता गतिविधिमा संलग्न कलाकारमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न जोडदार माग गर्दै सम्बन्धित मन्त्रालय तथा निकायहरूलाई समेत जानकारी गराएको छ । साथै कलाकारहरूलाई जिम्मेवार भएर सुसंस्कृत सामग्री मात्र प्रस्तुत गर्न आग्रह गरिएको छ ।