काठमाडौँ । नेपाली कांग्रेस की राष्ट्रिय सभा सांसद कमला पन्तले सरकारले संसदलाई कमजोर बनाउन अध्यादेशको अत्यधिक प्रयोग गरेको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको २१औँ अधिवेशनमा बोल्दै उनले वर्तमान सरकार स्वेच्छाचारी, निरंकुश र गरिबविरोधी मानसिकताबाट प्रभावित भएको दाबी गरिन् ।
पन्तले फागुन २१ को निर्वाचनपछि बनेको सरकारले जनताको अपेक्षा विपरीत काम गरिरहेको भन्दै राजनीतिक स्थिरता र तीव्र आर्थिक विकासको सट्टा निराशा बढाएको टिप्पणी गरिन् । उनका अनुसार सरकारले संसदको बैठक बिना कारण स्थगित गर्ने र कानुन निर्माण गर्ने संसदको अधिकार कमजोर पार्ने गरी अध्यादेशको अत्यधिक प्रयोग गरेको छ । उनले प्रतिनिधिसभाबाट नयाँ सरकार बने पनि त्यही संसदलाई नै लक्षित गरी कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाइन् । साथै, बजेटसम्बन्धी काममा समेत सरकारको व्यवहार कर्मकाण्डी देखिएको भन्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएकी छन् ।