विराटनगर । सशस्त्र प्रहरी बलले मोरङको रतुवामाई नगरपालिका–२ घररुचोकस्थित सीमा नाकाबाट स्रोत नखुलेको २० लाख भारतीय रुपैयाँ (भारु) बरामद गरेको छ। आइतबार (बैशाख २७ गते) राति सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको संयुक्त गस्ती टोलीले उक्त रकम बरामद गरेको हो।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेपछि सशस्त्र प्रहरीको टोलीले जाँच गर्न खोजेको थियो। प्रहरी टोली नजिक आउन थालेपछि मोटरसाइकलको पछाडि सवार व्यक्तिले आफूले बोकेको झोला सोही स्थानमा फालेर फरार भएका थिए।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार उक्त झोला खानतलासी गर्दा ५ सय दरका ४० वटा बण्डल (कुल २० लाख भारतीय रुपैयाँ) फेला परेको हो।
बरामद गरिएको उक्त रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकाय (राजस्व अनुसन्धान कार्यालय) मा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार व्यक्तिको खोजी भइरहेको र सीमा क्षेत्रमा अवैध मुद्रा ओसारपसार नियन्त्रणका लागि गस्तीलाई थप सशक्त बनाइएको प्रहरीको भनाइ छ।
