चिसापानी । कैलालीको चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा सोमबार बिहान खप्तड यातायातको यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको उक्त बस अनियन्त्रित भई सडकको बीचैमा पल्टिएको हो।
दुर्घटनामा परी बसमा सवार केही यात्रुहरू घाइते भएका छन्। घाइतेहरूको सङ्ख्या र उनीहरूको अवस्थाबारे विस्तृत विवरण सङ्कलन भइरहेको र स्थानीय तथा प्रहरीको सहयोगमा उद्धार कार्य जारी रहेको छ। घाइतेहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा पठाइएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
बस सडकको बीच भाग ओगटेर पल्टिएका कारण पूर्व–पश्चिम राजमार्गको चिसापानी–बर्दिया खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाटो बन्द हुँदा दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ भने सयौँ यात्रुहरू निकुञ्जको बीच जंगलमा अलपत्र परेका छन्।
प्रहरीका अनुसार सडकबाट दुर्घटनाग्रस्त बस हटाएर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। तीव्र गति वा प्राविधिक कारणले बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ।