काठमाडौँ । सुर्खेत मा नेपाली कांग्रेसको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । पार्टीका सभापति गगन थापा सुर्खेत पुगेर कार्यक्रमको उद्घाटन गर्ने तयारी गरिएको छ । उनी नियमित उडानमार्फत सुर्खेत आइपुगेका हुन् ।
त्यसैगरी उपसभापति विश्वप्रकाश शर्मा धनगढीबाट सडकमार्ग हुँदै सुर्खेत आउने क्रममा छन् भने महामन्त्री प्रदीप पौडेल बिहानै सुर्खेत पुगिसकेका छन् ।नेताहरूलाई स्वागत गर्न कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा संसदीय दलका नेता जीवनबहादुर शाही, कर्णाली प्रदेश सभापति ललितजंग शाही, ऊर्जा तथा सिँचाइ मन्त्री विजया बुढा लगायत पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू विमानस्थल पुगेका थिए । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको यो दुई दिने भेला विशेष महाधिवेशनपछि पहिलो प्रदेशस्तरीय कार्यक्रम हो ।
कार्यक्रममा संघीय, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा पार्टीका विभिन्न तहका नेतृत्व सहभागी भएका छन् । भेलामा हालैको प्रतिनिधिसभा निर्वाचनको समीक्षा, संगठनात्मक कमजोरीको विश्लेषण, पार्टीभित्रको एकता मजबुत बनाउने विषय तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने बताइएको छ । साथै सुशासन, विकास, नीति सुधार र जनमुखी कार्यक्रमबारे पनि विस्तृत छलफल हुने छ । कार्यक्रमले पार्टीको भविष्य रणनीति, संगठन सुधार र मतदाताको बदलिँदो मनोविज्ञानअनुसार नीतिगत परिमार्जनमा ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ ।