काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। पाण्डेले सोमबार बैंक सञ्चालक समिति समक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
बैंक स्रोतका अनुसार पाण्डेले ‘विशेष व्यक्तिगत कारण’ देखाउँदै राजीनामा दिएका हुन्। पाण्डे लामो समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहँदै आएका र नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको एकीकृत संस्थाको नेतृत्व गर्दै आएका थिए। उनको नेतृत्वमा बैंकले मर्जरपछिको सङ्क्रमणकालीन समयमा महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको थियो।
पाण्डेको राजीनामाका विषयमा बैंकको सञ्चालक समितिले थप प्रक्रिया अगाडि बढाउने र नयाँ सीईओ नियुक्तिको पहल थाल्ने जनाएको छ। उनलाई केही वर्षअघि मात्रै अर्को कार्यकालका लागि पुनः नियुक्त गरिएको थियो।