काठमाडौँ । निशा मेहता को सहभागितामा देशभर ‘स्वच्छ प्रशासनको नयाँ संकल्प’ अन्तर्गत सरसफाइ सप्ताह २०८३ सुरु गरिएको छ । काठमाडौँस्थित वीर अस्पताल बाट सोमबार यस अभियानको औपचारिक उद्घाटन गरिएको हो ।
उद्घाटनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री मेहताले सरसफाइ केवल अस्पताल वा संस्थामा मात्र सीमित नभई प्रत्येक नागरिकले आफ्नो घर, बाटो, कार्यालय लगायत सबै स्थानबाट सुरु गर्नुपर्ने बताइन् । उनले यो अभियान एक हप्तासम्म देशभर सञ्चालन हुने जानकारी दिइन् । उनका अनुसार सरसफाइलाई दैनिक जीवनको हिस्सा बनाउन आवश्यक छ र यसलाई घर–घरमै लैजानुपर्नेमा सरकारको जोड रहेको छ । साथै, वीर अस्पतालको सरसफाइमा पहिलेको तुलनामा सुधार देखिएको भन्दै अझ प्रभावकारी बनाउन प्रयास जारी रहने पनि उनले बताइन् । त्यसैगरी, स्वास्थ्य बीमाको विषयमा पनि सरकारले गम्भीर छलफल गरिरहेको र यसलाई जनमैत्री बनाउन आवश्यक सुधारबारे काम भइरहेको मन्त्रीले उल्लेख गरिन् । सरकारले जेठ १ गतेसम्म देशभर सरसफाइ सप्ताह २०८३ सञ्चालन गर्ने जनाएको छ ।