काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिरमा सोमबार एक विशेष समारोहबीच नयाँ नेपाली चलचित्र ‘चिरञ्जीवी भव’ को शुभमुहूर्त गरिएको छ। प्रमुख कलाकार र प्राविधिकहरूको उपस्थितिमा गरिएको मुहूर्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्रको पहिलो सट दिएका थिए ।
निर्माण पक्षका अनुसार चलचित्र आगामी जेठ १५ गतेदेखि छायांकनमा जानेछ। ४५ दिनको सुटिङ सेड्युल तय गरिएको यस चलचित्रको छायांकन धनकुटा, सुनसरी र काठमाडौंमा गरिनेछ। चलचित्र आगामी वर्षको माघ १ गते (माघे संक्रान्ति) देखि देशभरका हलमा प्रदर्शनमा आउने घोषणा गरिएको छ।
गत वर्षको ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले यस चलचित्रको निर्देशन गर्दै हुनुहुन्छ। चर्चित कलाकार कुमार कट्टेल (जिग्री) को कथामा निर्माण हुन लागेको यस चलचित्रमा एकसाथ थुप्रै प्रभावशाली कलाकारहरूको अभिनय रहनेछ। अन्य कलाकारहरुमा हरिवंश आचार्य, प्रियंका कार्की, सुवर्ण थापा, प्रशंसा रायमाझी, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, हरिस निरौला (कक्रोज), सुमन कार्की रहेका छन् ।
कुमार कट्टेलको कथा रहेको यस चलचित्रको लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेले सहकार्य गरेका छन्। उमेशकुमार बराल निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा गजित विष्ट र शैलेश खत्री रहेका छन्।
निर्माण पक्षका अनुसार चलचित्रले मुख्यतया दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई रोचक ढङ्गले प्रस्तुत गर्नेछ। सामाजिक र पारिवारिक विषयवस्तुमा आधारित यो चलचित्रलाई लिएर दर्शकमाझ अहिलेदेखि नै निकै उत्सुकता देखिएको छ।