काठमाडौँ । कास्की मा श्रीमानको किर्ते सहीछाप गरी बैंकबाट ५० लाख रुपैयाँ ऋण निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका–३० की ४४ वर्षीया वन्ती शाही र चौकुने गाउँपालिका–४ घर भई हाल पोखराको बुद्धचोकमा बस्दै आएका ४४ वर्षीय भद्र थापा रहेका छन् ।
प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेत का अनुसार मोहनबहादुर शाहीको नाममा पोखरा–३० मा रहेका दुई कित्ता जग्गाको कागजातमा वन्ती र भद्रले मिलेमतोमा किर्ते सहीछाप गरेका थिए । उक्त जग्गा धितो राखेर सिद्धार्थ बैंक लिमिटेड को तालचोक शाखाबाट ५० लाख रुपैयाँ ऋण निकालिएको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले वैशाख २५ गते दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हाल उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।