विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सको नाम परिवर्तन गर्न सुझाएका छन् ।
नेपाल क्रिकेट संघद्वारा विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् । विराटनगर किंग्सको नाम परिवर्तन गर्दै कोसी अर्नाज राख्न उनले सुझाए । उनले एनपीएल तेस्रो संस्करणमा कोसी प्रदेश सरकारलाई पनि जोड्न क्यानसँग आग्रह गरे ।
कोसी प्रदेशमा आधारभूत तहदेखि नै क्रिकेटको विकासमा सहयोग गर्न सरकार तयार रहेको उनले बताए । मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले प्रदेश सरकारलाई विराटनगरको बैजनाथपुरमा रहेको क्रिकेट रंगशाला हस्तान्तरण गरेमा आगामी दुई वर्षभित्र सुविधासम्पन्न अत्याधुनिक रंगशाला निर्माण गर्ने बताए ।
उनले मेची रंगशालामा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालनका लागि रातो किताबमा बजेटको व्यवस्था गर्ने बताए ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङथेपले क्रिकेटको माध्यमबाट नेपालको पहिचान विश्वमा पुगेको बताउँदै यस खेलको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।