काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले भोलि अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।
नेपालको संविधानको धारा ९५ को प्रावधान अनुसार, प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। सचिवालयले सबै सांसदहरूलाई अपराह्न ३ः४५ बजेभित्रै बैठक हलमा उपस्थित भइसक्न अनुरोध गरेको छ।
संयुक्त बैठकअघि अपराह्न २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकहरू बस्नेछन्।