चितवन । चितवनको भरतपुर महानगरपालिका–४ धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भएर बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ। गत वैशाख २३ गते आयोजित उक्त भोज खाएका पाहुनाहरूमा स्वास्थ्य समस्या देखिएपछि उनीहरू विभिन्न अस्पतालमा भर्ना भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीका अनुसार बिरामीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्। बिरामीहरूको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ। यस्तै, केही बिरामीहरू काठमाडौँका निजामती कर्मचारी (सिभिल) अस्पताल र त्रिवि शिक्षण अस्पतालमा समेत भर्ना भएका छन्।
सुरुवातमा दुई जना बिरामीलाई सघन उपचार कक्ष (क्ष्ऋग्) मा राखेर उपचार गरिए पनि अहिले उनीहरूको अवस्थामा सुधार आएपछि वार्डमा सारिएको छ। एसपी पुरीका अनुसार अहिले सबै बिरामीहरूको अवस्था खतरामुक्त रहेको छ।
बिरामीहरूमा कडा ज्वरो, पखाला र उच्च रक्तचाप जस्ता लक्षणहरू देखिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकहरूको मौखिक जानकारीका आधारमा यो विषाक्त खाना कै कारण भएको बताएका छन्। यद्यपि, यसबारे थप प्रयोगशाला परीक्षण र अनुसन्धान भइरहेको छ।
सामूहिक रूपमा मानिसहरू बिरामी परेपछि प्रहरीले घटनाको अनुसन्धानका लागि पार्टी प्यालेसका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ। भोजमा प्रयोग गरिएका खाद्य सामग्रीको गुणस्तर र भण्डारणबारे प्रहरी र खाद्य प्रविधि कार्यालयले संयुक्त रूपमा अध्ययन गरिरहेका छन्।