काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सस्तो लोकप्रियता र ’भाइरल’ बन्ने मोह त्याग्न निर्देशन दिएका छन् । आइतबार पार्टीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सांसदहरूलाई क्यामराको पछाडि नदौडिन र सदनको मुख्य काम विधेयक निर्माणमा केन्द्रित हुन आग्रह गरेका छन् ।
संसदीय समितिका बैठकहरूमा क्यामरा देखेपछि सांसदहरूमा अनावश्यक जोस आउने गरेको टिप्पणी गर्दै उनले भने, “समितिमा क्यामरा देखेपछि रगत तातेर आउँछ, मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को बोल्ने प्रवृत्ति छ। अब यो भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्।”
सभापति लामिछानेले आफूमा पनि केही हदसम्म राम्रो कभरेजको लोभ रहेको स्वीकार गर्दै तर लोकप्रियताकै आडमा जनताका मुख्य मुद्दाहरू छायामा पर्न नहुने बताए । “आफ्नो बारेमा राम्रो चर्चा भएको सबैलाई मन पर्छ, त्यो लोभको केही अंश ममा पनि होला। तर हामीले यसै पटक परिणाम दिनुपर्ने छ,” उनले भने ।
लामिछानेले सांसदहरूलाई समितिका बैठक र सदनमा केवल चर्को स्वरमा बोल्नुभन्दा पनि ऐन, कानुन र विधेयकका दफाहरूमा गम्भीर अध्ययन गरेर तर्क राख्न सुझाव दिएका छन् । जनताले रास्वपाबाट ठुलो अपेक्षा गरेको भन्दै उनले काम गरेर देखाउने बेला आएकोमा जोड दिएका छन् ।