काठमाडौँ । सगरमाथा आधार शिविरमा भारतीय झन्डासँगै नेपाली झन्डा सानो र खुम्चिएको अवस्थामा देखिएको विषयलाई लिएर चासो बढेको छ। आरोहणका क्रममा आधार शिविरमा देखिएका यस्ता गतिविधिले राष्ट्रियता र सार्वभौमिकतामा असर पर्ने भन्दै सरोकारवालाले प्रश्न उठाएका छन्।
हालै सार्वजनिक भएको तस्बिरमा भारतीय झन्डा ठूलो र नेपाली झन्डा सानो रूपमा देखिएपछि धेरैले यसको कारणबारे चासो व्यक्त गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार आधार शिविरमा विभिन्न देशका आरोहीहरू हुने भएकाले यस्ता दृश्य देखिन सक्छन्। केहीले भारतीय टोली वा अन्य विदेशी समूहले झन्डा राखेको हुन सक्ने अनुमान गरे पनि आधिकारिक पुष्टि भने भएको छैन। पर्यटन विभागका अनुसार आधार शिविरमा सीमित जनशक्ति भएकाले सबै गतिविधि पूर्ण रूपमा निगरानी गर्न कठिनाइ भइरहेको छ। विभागले अवैध वा अनधिकृत गतिविधि नियन्त्रणका लागि प्रयास भइरहेको जनाएको छ। यता फिल्ड कार्यालयले अनधिकृत रूपमा राखिएका सामग्री हटाइसकेको र निगरानी थप कडा बनाइएको जनाएको छ। सरकारले सगरमाथा क्षेत्रको मर्यादा र अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएको छ।