काठमाडौँ । चितवनको डिभिजन वन कार्यालयले सडक किनारमा रहेका जोखिमयुक्त रुख हटाउने काम सुरु गरेको छ। आँपटारीदेखि देवघाटसम्मको सडक खण्डमा जोखिमका रूपमा पहिचान गरिएका रुखहरू काट्ने कार्य थालिएको हो। देवघाट क्षेत्र विकास समितिको अनुरोधपछि यस वर्ष २५ वटा रुख काट्ने प्रक्रिया सुरु गरिएको वन कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सो सडक खण्डमा रहेका ६२ वटा रुख जोखिमपूर्ण अवस्थामा रहेको पहिचान गरिएको थियो। तीमध्ये केही रुख पहिले नै सुकेका कारण यसअघि नै काटिसकिएको छ। वन नियमावली २०७९ अनुसार सडक, विद्युत् तथा सार्वजनिक सुरक्षामा जोखिम हुने अवस्थामा रुख वा हाँगाबिँगा हटाउन सकिने व्यवस्था रहेको छ। सोही आधारमा जोखिम न्यूनीकरणका लागि कटान कार्य अघि बढाइएको हो। अन्य स्थानहरूमा पनि जोखिमयुक्त रुख पहिचान गर्ने काम भइरहेको र आवश्यक परेमा थप रुख काटिने बताइएको छ। कटानपछि काठ बोलपत्रमार्फत बिक्री गरिने योजना रहेको वन कार्यालयले जनाएको छ। यस अभियानले सडक आवागमन सुरक्षित बनाउने र दुर्घटनाको जोखिम कम गर्ने अपेक्षा गरिएको छ।