काठमाडौँ । नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै बादी समुदायका प्रतिनिधिहरू सडकमा उत्रिएका छन्। फिल्मले आफ्नो समुदायको आत्मसम्मानमा ठेस पु¥याएको र चरित्र हत्या गरेको भन्दै आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।
आफ्नो माग सम्बोधन गराउन डा. रोशनी नेपाली (वादी) लगायत ५ जना माइतीघर मण्डलाको विस्तारित सडक खण्डमा शान्तिपूर्ण धर्नामा बसेका छन्। उनीहरूले चलचित्रले बादी जातिको गर्विलो इतिहासलाई बङ्ग्याएर कुप्रचार गरेको आरोप लगाएका छन्।
धर्नास्थलमा प्रदर्शनकारीहरूले ‘वादी समुदायको चरित्र र नैतिक हत्या गर्दै मानव अधिकार हनन गरेको चलचित्र लालीबजार बन्द गरौं’ लेखिएको ब्यानर प्रदर्शन गरेका छन्। त्यस्तै, ‘वादी जातिको सम्मान कायम गर’ र ‘चलचित्र विकास बोर्ड मूर्दावाद’ लेखिएका प्लेकार्डहरू बोकेर उनीहरूले विरोध जनाएका छन्।
प्रदर्शनकारीहरूका अनुसार चलचित्रले समुदायको संवेदनशीलतालाई वास्ता नगरी नकारात्मक सन्देश फैलाउन खोजेकाले प्रदर्शन रोक्नुपर्ने माग गरिएको हो। पछिल्लो समय सामाजिक कथावस्तुमा आधारित भनिएका चलचित्रहरूमा विभिन्न जातजाति र समुदायको चित्रणलाई लिएर विवाद बढ्दै गएको देखिन्छ।