काठमाडौँ। लापरबाहीपूर्ण रूपमा सवारी साधन चलाउने ३१ जना चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनका लागि सिफारिस गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीका अनुसार बैशाख महिनामा मात्रै ट्राफिक नियम उल्लंघन गरी गम्भीर लापरबाही गर्ने ३१ चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पत्राचार गरिएको हो ।
उनका अनुसार मापसे गरी सवारी चलाउने तथा पटक–पटक नियम उल्लंघन गर्ने चालकहरूलाई कारबाही स्वरूप लाइसेन्स निलम्बनका लागि सिफारिस गरिएको छ । केही चालकले १५ देखि २० पटकसम्म नियम उल्लंघन गरेको पनि पाइएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले चोरीका मोटरसाइकल नियन्त्रण, ट्राफिक प्रहरीको व्यवहार सुधार तथा सडक व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । त्यस्तै, लामो तथा मध्यम दूरीका सवारी साधनलाई व्यवस्थित बसपार्क प्रणालीमार्फत मात्र सञ्चालन गर्ने व्यवस्था लागू गरिएको पनि उनले जानकारी दिए । ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाइएको अधिकारीको भनाइ छ ।