काठमाडौँ । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मालती मंगले’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापार गर्दै दर्शकको ध्यान आकर्षित गरिरहेको छ । सुरुवातमा सामान्य ओपनिङ भए पनि शनिवारदेखि भने चलचित्रले अप्रत्याशित रूपमा दर्शकको उल्लेख्य साथ पाउन थालेको हो ।
दर्शकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र ‘माउथ पब्लिसिटी’ का कारण देशभरका सिनेमा हलहरूमा दर्शकको चाप बढेको बताइएको छ । शनिबार चलचित्रको टोली राजधानीका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको थियो । निर्माता तथा गायक रामकृष्ण ढकालसहित कलाकारहरू वर्षा राउत, विजय बराल, मेक्सम गौडेल र उमेश सुनाम हलमा पुगेका बेला दर्शकहरूले हुटिङ र तालीसहित उत्साहपूर्वक स्वागत गरेका थिए ।
दर्शकहरूले चलचित्रलाई “नेपालीपन बोकेको उत्कृष्ट प्रस्तुति” भन्दै प्रशंसा गरेका छन् । कथावस्तु र प्रस्तुति दुवै पक्षले हँसाउनेदेखि भावुक बनाउनेसम्मको अनुभव दिएको प्रतिक्रिया दर्शकको छ । विशेषगरी वर्षा राउतको अभिनय, साथै विजय बराल र मेक्सम गौडेलको प्रस्तुतिलाई दर्शकले निकै रुचाएको बताइएको छ । यस्तो सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’ का कारण चलचित्रको बक्स अफिस यात्रा आगामी दिनमा अझै मजबुत हुने अपेक्षा गरिएको छ ।