काठमाडौँ । धनकुटा बहुमुखी क्याम्पसमा आधुनिक र समावेशी शिक्षाका लागि स्थापना गरिएका ई–लाइब्रेरी र अपाङ्गता सहायता केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा प्रयोगविहीन बनेका छन् ।
कुनै समय पूर्वाञ्चल क्षेत्रकै प्रमुख शैक्षिक केन्द्रका रूपमा परिचित यस क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएसँगै प्रविधिमैत्री संरचनाहरू पनि निष्क्रिय बन्दै गएका छन् । करिब एक दशकअघि स्थापना गरिएको ई–लाइब्रेरीमा २० वटा कम्प्युटर, इन्टरनेट सेवा तथा डिजिटल शैक्षिक सामग्रीको पहुँच भए पनि आवश्यक जनशक्ति र नियमित सञ्चालन नहुँदा उपयोग हुन सकेको छैन । क्याम्पसका सहायक प्रमुख डा। श्यामप्रसाद वाग्लेका अनुसार योग्य लाइब्रेरियनको अभावका कारण सेवा प्रभावकारी बन्न नसकेको हो ।
त्यस्तै, चार वर्षअघि अपाङ्गता भएका विद्यार्थीलाई सहज अध्ययनका लागि स्थापना गरिएको सहायता केन्द्र पनि बजेट र पूर्वाधार अभावमा सञ्चालनमा आउन सकेको छैन । क्याम्पस प्रमुख होमबहादुर बस्नेतले उपकरण भए पनि सञ्चालन खर्च र व्यवस्थापन अभावले केन्द्र निष्क्रिय बनेको स्वीकार गरेका छन् । विद्यार्थी तथा स्ववियु प्रतिनिधिहरूले संरचना मात्र निर्माण गरेर नहुने भन्दै प्रविधिको उपयोग र अभिमुखीकरणमा ध्यान दिनुपर्ने बताएका छन् ।क्याम्पस व्यवस्थापन समितिका सदस्यहरूबीच पनि समन्वयको अभाव देखिएको छ । केही सदस्यहरूले आफूलाई नियमित बैठकमा नबोलाइएको गुनासो गरेका छन् । सरोकारवालाहरूले लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएका संरचना प्रयोगविहीन हुनु गम्भीर लापरबाही भएको भन्दै तत्काल सुधार आवश्यक रहेको बताएका छन् ।