काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारी ले संसदीय अभ्यासलाई नीतिगत सुधार र कार्यान्वयनमुखी बनाउन नयाँ दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चुनावी राजनीति, संसदीय भूमिका र नीतिगत बहसबीचको अनुभव साझा गर्दै आफू अहिले राज्य संयन्त्र र नीति निर्माण प्रक्रियालाई नजिकबाट बुझ्ने चरणमा रहेको बताए । अन्सारीका अनुसार चुनावी प्रतिस्पर्धापछि सांसदको भूमिका विधायिकामा प्रवेश गर्ने र नीतिगत काममा केन्द्रित हुने हुन्छ । समितिको सभापति भएपछि उद्योग, श्रम र उपभोक्ता हितसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ अघि बढाइएको उनले बताए । उनले समितिको प्रारम्भिक बैठकहरूमा मन्त्रालयका पदाधिकारी, पूर्व सभापति तथा सदस्यहरूसँग छलफल गरी विगतका अभ्यास, चुनौती र कार्यक्षेत्रबारे बुझ्ने प्रयास गरिएको जानकारी दिए । साथै उद्योग तथा वाणिज्य मन्त्रालय र श्रम मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरेर नीति कार्यान्वयनको अवस्था अध्ययन गरिएको उनले उल्लेख गरे ।
अन्सारीले आजको औद्योगिक वातावरण पूर्ण रूपमा परिवर्तन भइसकेको बताउँदै प्रविधि, एआई, हरित ऊर्जा र आधुनिक उत्पादन प्रणालीसँग अनुकूल हुने नीति आवश्यक रहेको धारणा राखे । उनले विगतमा नीति निर्माणमा रहेका कमजोरीका कारण उद्योगी–व्यवसायीलाई अनावश्यक कठिनाइ भएको हुनसक्ने उल्लेख गर्दै अब ती कमजोरी सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार संसदीय समितिलाई केवल प्रतिवेदन तयार गर्ने निकाय नभई समाधान दिने प्रभावकारी संयन्त्रका रूपमा विकास गर्नुपर्छ । अन्सारीले समितिहरू अघिल्ला वर्षहरूमा कहिलेकाहीँ प्रभावशाली समूहहरूको प्रभावमा परेको आरोप लगाउँदै अब भने पारदर्शिता र समग्र हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।