काठमाडौँ । काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित राम मन्दिर नजिकैको जंगलमा आइतबार तीनवटा ग्रिनेड फेला परेका छन्। अवैध घरटहरा (सुकुम्बासी बस्ती) हटाइएको क्षेत्रभन्दा केही माथि जंगलमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको सूचनालगत्तै उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीका अनुसार उक्त स्थानमा पुराना भइसकेका ३ वटा ग्रिनेड फेला परेका हुन्।
फेला परेका ग्रिनेडहरू कति पुराना हुन् र त्यहाँ कसरी आइपुगे भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। शंकास्पद वस्तु फेला परेसँगै सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने बम डिस्पोजल टोलीलाई पनि आवश्यक प्रक्रियाका लागि जानकारी गराइएको छ।
पशुपति क्षेत्रमा अवैध संरचना हटाउने अभियान चलिरहेकै बेला यस्ता विस्फोटक पदार्थ भेटिनुलाई सुरक्षा दृष्टिकोणले गम्भीर रूपमा हेरिएको छ।